Wednesday, August 15, 2012

म्याङलुङ्ग बजार

म्याङलुङ्ग बजार तेह्रथुम जिल्लाको सदरमुकाम हो । विषेश गरेर लिम्बु जातीको बाहुल्यता रहेको तेह्रथुम जिल्लाको यस सदरमुकाममा भने बढि मात्रामा नेवार जातीहरु बसोबास गर्नेगर्छन् । हरेक शुक्रबारको दिन हाट लाग्ने यस बजार सम्म पुग्ने सडक हालैमात्र पक्कि बन्दै गरेकोछ ।

विराटनगर, धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यम बाट जान सकिन्छ । यहाँ सम्मको यात्राको क्रममा बाटोमा विभिन्न प्राकृति मनोरम दृश्यहरु, लालिगुराँस, तिनजुरे डाँडा तथा मकालु, कन्चनजंगा, कुम्भकर्ण लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ भने म्याङलुङ्ग बजार भित्र रहेका सिंहवाहिनी मन्दिर र पाथिभरा मन्दिर ले यस बजारको सोभा झन बढाएको छ । साथै यहाँको अर्को मुख्य विशेषता भनेको ढाका कपडा हो जुन तेह्रथुमे ढाकाको नाममा प्रसिद्ध रहेकोछ ।
म्याङलुङ्ग बजारको नामाकरणको वारेमा पनि एउटा रोचक प्रसंग छ । लिम्बू भाषामा म्याउँको अर्थ बिरालो र लुङ्गुको अर्थ ढुङ्गा हुन्छ। म्याउलुङबाट अपभ्रंश भई म्याङलुङ भएको स्थानीय बूढापाकाहरूको भनाइ छ। प्रचलित लोककथा अनुसार धेरै पहिले डाँडाको एक चौतारामा दुइ ढाक्रे बास बस्न पुगेछन्। रातको समयमा खाना पकाउन ढुङ्गा खोजी चम्का लगाएर खाना पकाउन लाग्दा आगोको तापसँगै उक्त ढुङ्गा काँप्न थाल्यो। उक्त ढुङ्गा निकै तातेपछि काँप्दै लड्न पुग्यो र उनीहरूको खानासमेत पोखियो। रिसको झोकमा उनीहरूले सो ढुङ्गामा तरबार प्रहार गरे, तरबार प्रहारका क्रममा ढुङ्गाबाट म्याउँको आवाज आएको र त्यसबाट रगतसमेत बगेका कारण ढाक्रेहरू डराएछन्। उनीहरूले यो कुरा स्थानीय बासिन्दाहरूलाई सुनाए। उक्त घटना सुनिसकेपछि गाउँलेहरूले अब अनिष्ट हुने भयो भनी सो ढुङ्गालाई बाजागाजासहित हालको म्याङलुङ बजारको मध्यभागमा रहेको चौताराको वरको रूखको फेदमा स्थापित गरे। त्यहाँ पूजाआजा गर्ने, भाकल गर्ने र बलि चढाउने चलन अहिले पनि छ। यहाँको हावापानी मध्यम खालको भएकाले वातावरण रमणीय छ ।

वि.स.  २०५९ मंसिर २२ गते बेलुका म्याङलुङ्ग बजारमा भिषण आगलागि भएको थियो जसको कारण कुनै  मानवीय क्षति नभए पनि लगभग ८५ वटा घरसहित लत्ताकपडा, फर्निचर आदिका साथै सम्पूर्ण सामान जलेर खरानी भएका थिए। यसै क्रममा लगभग २ सय ५० घरपरिवार विस्थापित भए भने लगभग २ अरब बराबरको धनजनको क्षति भएको अनुमान गरिएको थियो ।

1 comment: